Sherjung bahadur Chand

Sherjung bahadur Chand

मैले चिन्ने र मलाई विर्षने मेरो जन्मथलो ।
संसारमा करिब १५ प्रतिशत मानिस आफ्नो देश छोडेर अर्को देशमा गई बस्ने गर्दछन् र करिब ७० प्रतिशत मानिसहरु आफ्नो जन्मथलो छोडेर कर्मथलो तिर वा घर छोडी देश विदेश तिर बसोबास गर्ने गर्दछन । नेपालमा पनि करिब यतिका प्रतिशत नै मानिस आफ्नो जन्मथलो छोडेर कर्मथलो वा देश विदेश गएको तथ्यांक छ । यहि ७० प्रतिशत भित्र पर्ने एक नाम पनि हो, शेर जंग बहादुर चन्द । यस्ता अनेकौँ नाम÷पात्र मेरो मस्तिष्कमा छन् मैले देखेको छु, विचार गरेको छु, सम्झेको छु र सम्झिरहन्छु पनि । हर्के हल्याण्ड, सुर्जे स्वीजरल्यााण्ड, अमर अमेरिका, आसु अष्ट्रेलिया, काले काठमाण्डौँ, दिले दिल्ली,महेश मूम्बई यी पात्र मात्र हुन् । यी अनेक पात्रहरु जस्तै मेरा पनि धेरै साथिहरु छन्, तपाईका पनि होलान् र सबैका हुन्छन् पनि । म सजिलै विश्वास गर्न सक्छु । मेरै तीन पुस्ताको कुरा गर्दा बाजेले जन्मथलो छोड्नु भयो, बुवाले पनि र मैले पनि । यसरी जन्मथलो छोड्ने केही सुखत पक्ष भएपनि केही अति नै दृखत अनुभव हुँदो रहेछ । एउट छोरीले बुवाको घर छोड्दा कस्तो अनुभव हुन्छ होला यसको अनुमान त म गर्न सक्दैन तर माइतिको गाँउबाट काग उडेर आयो भने पनि माया लाग्छ भन्ने उखानले त्यो अनुभव कस्तो थियो भनेर दर्शाउछ । ७० प्रतिशतमा मा म पनि परे मलाई पनि केही सुख–दुख भयो त्यही कुरा म बाड्दैछु । करिब ४ दशक पहिले म महेन्द्रनगर हालको भिमदत्त नगरपालिकामा जन्मेको थिए । पापीपेट, सानो सहर तर इच्छा बढि भएपछि मैले महेन्द्रनगर छोडे । कर्मथलो नै परिर्वतन भएपछि म महेन्द्रनगर खासै जान सकिन । गएकोे बेला पनि २÷४ दिन बस्ने तथा घर परिवार आमा बुवा दिदी बहिनी दाजु भाई सँग बस्दा बस्दै समय वित्ने भएकाले हतार हतारमा आफ्नो कर्मथलो फिर्ता आउने गरेको थिए । यही शिलशिलामा केही समय पहिले महेन्द्रनगर जाँदा मैेले राम्ररी चिन्ने महेन्द्रनगरले मलाई चिनेन र दुखी भई कलम नचलाई बस्न सकिन । घटना के भयो ? जुन खेतको बाटो हुँदै गाउँको विचबाट हामीले हाम फाल्दै म कक्षा २ देखी ७ सम्म पढ्न जान्थे त्यही बाटो एकचोटी जाउँ भनि विचार गरे तर त्यो बाटो अब बाटो थिएन । घरबाट ज्ञानुको घर, ज्ञानुको बाट भानु, रामुदाईको घर हुँदै धर्मको घर अगाडीबाट शान्तिको घर, सिताको घर हुदै गोविन्दको घर अगाडीबाट हिड्दै उसको काकाले किनेको टिभीमा आईतबार महाभारत हेर्दै विद्यायल जाने जुन बाटो थियो अब त्यो बाटो नै रहेन । त्यस बेला त्यो बाटोमा मलाई नचिन्ने कोही थिएन, त्यो बाटोको ठुलो ढुङ्गा, त्यो सिमलको रुख, त्यो पिपलको चौतारी देखि त्यो ध्रुबको घरको कालो कुकुर सम्म । तर आज एकपटक त्यो सोच्दा ज्ञानु घर छोडी कर्मथलो तिर देशमै कतै अर्को ठाउँमा छ रे, रामु दाई भानु दाई त्यो पुरानो घर छोडी कोही काठमाण्डौ त कोही अन्यत्र गएका छन रे । धर्म महेन्द्रनगर भएपनि उसले शेर भनि चिन्छ होला तर सामाजिक सञ्जालबाट मात्र । शान्तिसँग केही समय पहिले काठमाण्डौमा भेट भएको थियो उसले पनि विवाह गरी जन्मथलो परिवर्तन गरेको रहेछ । सिता भारततिर कता छ थाहा छैन, उनिहरुले त मलाई चिन्ने कुरै भएन । पछिल्लो समय सम्म गोविन्द मेरो सम्पर्कमा नियमित जस्तो नै थियो । तर उसको पनि डिभि परेर अमेरीका भासिए पछि सधै सुख दुखका कुरा गर्ने साथि अब उसले पनि मलाई विस्र्यो । यस्तै बरमक्का, चेतराज, यज्ञराज, राम, ध्रुब, गजी सबैले मलाई विर्षे । कैयौ पट बसेर मैले पानी खाएका त्यो ढुङ्गाले पनि मलाई विर्षियो । सुनेको छु त्यो हिम्मति ढुङ्गा टुक्रा टुक्रा भएर सडक बनाउदा माटोभित्र च्यापियर रोईरहन्छ । त्यो सिमलको रुख काठमाण्डौमा कसैको घरको ढोका बनेर बसेको छ रे । चौतारी भत्किसक्यो अनि मलाई चिन्ने ध्रबुको कालो कुकुरपछि ध्रबुले ८ वटा कुकुर अरु पालिसक्यो । अब त्यो बाटोमा सयौँ घरहरु छन त्यो बाटोले मलाई विर्षिसक्यो, त्यो रुख मरिसक्यो, त्यो पोखरी सुकिसक्यो, माया गरि चिउरा दिने ठुली आमा, बाटोमा पिट्न आउने बाजे अब कोेही पनि रहेनन् केबल तिनिहरुका याद बाहेक । त्यो काठको पसल(खोका) कता गयो थाहा छैन, त्यो पसल मालिक रक्सीको लतले अब अन्तिम दिनहरु गन्दै छ रे, मैले अहिले पनि त्यो जन्मथलोलाईृ चिनेको छु त्यो गाउँलाई चिनेको छु तर अहँ अब मलाई मेरै जन्मथलोले चिन्दैन । म एक्लै भएको बेला आफुलाई त्यस ठाउँमा चिनाउन खोज्छु तर अब त्यो बाटोमा मलाई कोही चिन्दैन, चिन्नेले पनि विर्षिसके तर पनि म सँग महेन्द्रनगरको श्याम खेतको फोटो जस्ताको तस्तै छ । अलि ठुलो भए विद्यालय परिवर्तन भयो, त्यहाँ पनि त्यस्तै अनेकाँै पात्रहरु आए, रमेश ओमकार, पुस्पा, विमला जस्ता अनेकौ पात्र अमेरिका क्यानडा हानिए । हरिस, गौरव, बसन्त दिपा सुमित्राले म जस्तै काठमाण्डौलाई कर्मथलो बनाए, धु्रब, गजि पुस्कर आदि महेन्दैनगर मै रमाए । फेरी हेर्दा त्यही कथा दोहोरियो यहाँ पनि । त्यो नहरको पुल जसमा दिनको दुई पटक ओहार दोहोर गर्थे,तर आजभोलि भत्केला जस्तो भएको त्यो पुलले मलाई चिन्दैन । सानोमा म खेल्ने त्यो पुरानो बसको संरचर्नो त्यसलाई कवाडीले उहिले नै बेचिसक्यो रे । त्यो महाकाली सिचाई भित्रको लिचिको रुख जसबाट लिचि चोरी खान्थे, ५÷७ वर्ष पहिले हुरीले त्यसको हातखुट्टा तोडिदियो रे । अब मलाई माया गरि पिट्ने मेरा मेडमहरु मलाई चिन्दैनन्, त्यो विद्यालय भवन परिवर्तन भई मैले पढ्ने कोठा कहाँ थियो खोज्नै सकिएन, त्यो गल्ली जहाँ बेलुकी बेलुकी साइकल चलाउदै बस्थेँ आज त्यो एकदमै चौडा भई घमण्डी भैसकेछ झन उसले त मलाई के चिन्थ्यो र । त्यो बैजनाथ स्कुल, त्यो सिद्धनाथ विज्ञान तथा बहुमुखि क्याम्पसहरुको पनि मैले रङ्ग परिवर्तन भएको देखिसके । म चिनाउन खोज्छु तर उनिहरु चिन्ने मान्दैनन् । ती केटी साथीहरुको पछि पछि साइकलमा उनिहरुको घरसम्म गएको पनि म ठ्याक्कै सम्झन सक्छु तर आज न त्यहाँ साथी छ, न त्यो घर न तीनिहरुको लेडिवर्ड साइकल । मलाई पढाउने शिक्षकहरु कति रिटायर्ड भए त कतिले संसार नै छोडिसके । फेरी पनि म चिनाउन खोज्छु तर महेन्द्रनगरले चिन्न मान्दैन र सक्दैन पनि । मैले दिउँसो ४ बजेदेखि १०आँै वर्षसम्म तेक्वान्डो खेलेको त्यो कभर्ड हल बुढो भई आँखा नै देख्न छोडेछ अनि मलाई कसरी चिन्थ्यो । त्यो क्रिकेट खेल्दा छक्का हानेका कति बलहरु मेचको पछाडी खुल्ला मैदानको झाडिभीत्र बसि दबेका छन् । सायद तिनले चिन्थे की तर खोज्ने सामथ्र्य म मा भएन । अलि अगाडी नयाँ घरहरु बनिसके तिनीहरुले मलाई चिन्ने कुरा भएन, झन त्यहाँ भित्र बस्ने मान्छेहरु मलाई कसरी चिन्थे र । त्यो लुकेर सिग्रेट खाने झाडी अब पार्क बनिसकेछ त्यसले पनि विष्र्यो । त्यो ठेलावाला दाई जसलाई पचास पटक भन्दा धेरै धम्काएर विना पैसा चाट खाने गर्थे उसको छोरा आज काठमाण्डौ छ रे तर चाट बेच्ने विर्षेको छ । त्यो कपाल काट्ने नाई दाइको पसल जहाँ दिनमा एकपटक भएपनि कपाल मिलाउन होस या ठुलो सिसामा आफ्नो अनुहार हेर्न जान्थे, त्यो दाई पनि आँखा नदेख्ने गरी बुढो भएछ र मलाई चिन्नै छोडेछ । हो यस्तै विभिन्न घटना÷पात्र लिई म आफु महेन्द्रनगर समक्ष चिनिन खोज्छु तर अब उ मलाई चिन्न तयार छैन । त्यो घमण्डी भयो या उसको बाध्यता थियो त्यो मलाई थाहा भएन । म स्वार्थि भएर उसलाई छोडे, तँ सानो ठाउँ भइस मेरा इच्छा आकांक्षाहरु अटाएनन भनि आएको थिए सायद त्यसैले उसले मलाई चिनेर पनि नचिनेझैँ गरिरहेको पो छ की ?? म एकोहोरो भएर बारम्बार यही सोचिरहन्छु । न गल्ली, न चोक, न रुख, न पोखरी, न ढुङ्गा, न साथी, न भाई, न काका, न खेत, न खोला, चौतारी, न त न ठेलावाला, न नाई दाई , न ध्रुबको कुकुर अब मलाई चिन्ने महेन्द्रनगरमा कोही पनि छैन । महेन्द्रनगरलाई म विर्षन्न भन्छु तर महेन्द्रनगर मलाई चिन्दै चिन्दैन र चिन्न खोज्दैन पनि । बेला बेलामा ठाउँ भन्दा पनि समयले विर्षेको हो की जस्तो लाग्छ त्यो पनि मन बुझाउनका लागि मात्र । तर एक कुराले मन बुझाएको छु , महेन्द्रनगरले मलाई विर्षदै गएको छ तर मलाई अरु ठाउँले अरु नगरले चिन्न थालेका छन् । अरु नगरले चिने पनि तिमी महेन्द्रनगर नै प्रिय लाग्छ जहाँ मैले साना साना हातले खेलेको थिए जसकारण तिमि मेरो मन मष्तिष्कमा बसेका छौ । तिमिले विस्र्यौ म अति दुखि छु तर विकल्प केही छैन । यो घटना मेरो लागि मात्र नभई प्राय सबैमा घट्ने घट्दछ र कोही पनि केही गर्न नसक्ने भएकाले तिमि चाहे जतिसुकै विर्ष महेन्द्रनगर तर तिमीलाई कहिल्यै विर्षने छैन । मेरो कलम यही राकिन्छ । मसि छ, याद छ समय पनि अलि अलि छ तर म जति बोले पनि तिमी निर्दयी मलाइ याद नगर्ने नसम्झीने भएकाले म यही रोकीएको छु मेरो कलम यही रोकीएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x