गत हफ्ता एकजना पुर्ब प्रधानमन्त्री ज्यु संग भेट भयो मैले संस्कारीक अभिबादन गरेपछि सोधे चिन्नु भयो ? वहाले अलि गाह्रो गरि चिने भन्नुभयो मलाइ वहाले राम्ररी नचिनेको जस्तो भान भयो र भने म फलानाको छोरा फलानो। त्यसपछि बल्ल वहाले मलाइ राम्ररी चिन्नु भयो र भन्नु भयो बाबु जुँगा पालेको रहेछौ जुँगा पालेपछि त अनुहार ठ्याक्कै बुवा जस्तै देखिने। बुवा जस्तै मुख ( अनुहार ) भनि सुन्दा मनमनै खुशी हुदै घर फर्के रहरले पालेको जुँगा केहि दिन नकाट्ने बिचार गरे । घर आएर ऐना हेरे, आफनो खुशी भएको मुख पनि हेरे, जुँगा पनि हेरे तर आफनो अनुहार बुवाको जस्तै कुनै कोण बाट पनि पाईन। बुवाको मुख सम्झे अनि ५/६ दिनमा बुवाको मुख हेर्ने दिन पनि आउदैछ भनि अलि गहन भए। बुवाको अनुहारमा त्यो जुँगा बाघको जुँगा जस्तो देखिन्थ्यॊ हुन् त जुँगा गन्दा मेरो पनि बुवाको जुँगा भन्दा कम छैनन् होला तर बुवा सम्झिदा मेरो जुँगा मेरो मुखमा बिरालोको जुँगा जस्तो लाग्न थाल्यो। स्थान सर्बश्रेष्ठ जस्तो मलाई लाग्यो। बुवा शब्द आफैमा भारि भएर होला मेरो बुवाको मुख मलाइ बाघ जस्तो लाग्थ्यॊ अनि मेरा छोरा छोरी लाइ मेरो अनुहार बाघ जस्तो लाग्छ होला। भोलि मेरो छोराले जुँगा पाल्दा उसलाई उसको जुँगा बिरालो को जस्तो र मेरो जुँगा बाघको जस्तो लाग्छ होला। बुवाले पनि बाजेसँग आफुलाई तुलना गर्दा यहि भयो होला। पछि मैले बिचार गरे जति ठुलो व्यक्तिले भने पनि , स्वयम् भगवानले आएर भने पनि म मेरो बुवाजस्तो कुनै कोणबाट पनि छैन भनि सोचे चाहे बिचार, चाहे ज्ञान, चाहे आत्मबल, चाहे अनुसाशन, चाहे आचरण, चाहे सम्मान, चाहे निर्णय लिने क्षमता ,आदि आदि
बुवाको मुख आफुमा देख्न्न नपाए पछि मेरो ध्यान वहाको फोटो तिर गयो। भौतिक शरीर मन मस्तिष्कमा मात्र रहेका बुवाको मुख फोटोमा हेर्न थाले। ७०० भारतीय रुपिया पेनसन लिन भारतको सानो बजारमा जादा महिनाभरिको बजेट बनाएर बुवाको जो खर्च गर्ने बानि थियो त्यो आज म अर्थशास्त्रमा बिधावारिधि गरि पनि गर्न सक्दैन भन्ने म राम्ररी जान्दछु। चिनी यति किलो, चियापत्ती यति किलो, यो महिना दाइलाई जुत्ता, अर्को महिना आमालाई धोति यस्तो बजेट बिनियोजन आज पनि गज्जब लाग्छ। अरुको कुरा गर्ने तरिकाबाट सहि गलत छुट्याउने बुवाको बिबेकी निर्णय फोटो हेरी सोची रहे। कमाउनु भन्दा खर्च गर्न जान्नु भन्ने सिद्धान्त लिएर बस्ने बुवाको मस्तिष्क बाट निर्णय लिने क्षमता पनि सोच्न थाले। बुवाको मुख हेर्ने दिन कसलाई हेरु त भनि सोच्दा सोच्दै मेरो मन पारिवारिक सदस्य तिर उडन थाल्यॊ।
त्यसपछिको मनको यात्रा सुरु भयो। आफनो अनुहारमा बुवाको गुण नपाएपछि कसको अनुहारमा बुवाको झझल्को आउछ भनि खोज्न थाले, पहिलो मेरो निशाना आउने बुवाका सहोदर भाई मेरा काका पर्नुभयो। जुँगा बुवाको जस्तै पाल्ने काकाको बानि बुवा संग कति मिल्ने र बुवा भन्दा कति फरक भनि सोच्न थाल्दा काका बुवाको अगाडी कमजोर देखे खास गरि बुवाको जस्तो नेतृत्व गर्ने क्षमतामा। अनुहार (मुख ) को ढांचा मिलेपनि आखामा काकामा कमि पाए पछि मैले काका भित्र बुवा खोज्न छोडे। बुवालाइ खोज्न मैले अर्को व्यक्ति ठुलो दाइ लाइ रोजे। अध्यानशील सरल स्वभावको ठुल्दाई बुवा जसरि निर्णय लिन नसक्ने देखिने हुनाले ठुल्दाईमा पनि मैले बुवाको मुख देख्न सकिन । यसपछि मैले सानोदाईमा बुवाको मुख खोज्न थाले। बुवा जत्तिकै खट्न सक्ने सानोदाईमा त पक्का बुवाको मुख देख्छु कि भन्ने कुराबाट तब कमजोर भए सानोदाइमा पनि पाएन। यद्दपि हामी तीन दाजुभाइमा सानोदाइको अनुहार चाहि बुवा संग बढी मिल्दोजुल्दो पाए।
आमा खुशी हुँदा पनि बुवाको झझल्को देख्ने म, दिदिहरु निराश हुँदा पनि बुवाको झझल्को देख्ने म, दाइहरु रिसाउदा पनि बुवाको झझल्को देख्ने म, छोराको सरसफाई गर्ने बानि देख्दा पनि बुवाको झझल्को देख्ने म, छोरी अक्षर घुमाएर लेख्दा सम्म बुवाको झझल्को देख्न म, भतिजीले जिद्द गर्दा बुवाको झझल्को देख्ने म, अब म बुवा जस्तो अनुहार (मुख ) खोज्न कता जाउ भनि सोच्न बाध्य भए। यद्दपि खोज जारि रहने छ तबसम्म मुख हेर्न नपाए पनि झझल्को मेटाउन फोटो नै हेर्ने छु बुवा ।
